विचार

क्यान्सर र मृर्गौला रोगसँग भिड्दै सिनासको परीक्षा हलमा भेटिए ८० वर्ष ‘बा’

post-img

काठमाडौं, ८ वैशाख । नेपालीमा एउटा उखान छ, ‘खाने मुखलाई जँुगाले छेक्दैन ।’ अर्को भनाई पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ, ‘जहाँ ईच्छा त्यहाँ उपाए ।’ यी दुबै उखान सायद कसैको जीवनमा एकैसाथ मेल खान्छन् भने जिन्दगीको ८० औँ बसन्त पार गरिसकेका व्यक्ति पुष्प खड्कासँग दाँज्दा हुन्छ ।

नेपालीहरुले बाँच्दै आएको औसत उमेरलाई दाँजेर भन्ने हो भने उनको उमेरलाई कतिपयले ‘डाँडा पारीको घाम’सँग पनि तुलना गर्लान् । तर उनले अझ धेरै बाँच्नु छ र पहिरनु छ दीक्षान्तको ताज । पुष्प यतिबेला जारी त्रिवि स्नातक तह (शिक्षा शास्त्र संकाय) को जारी परीक्षामा सहभागी हुनका लागि काठमाडौको बुढानिलकण्ठस्थित डेराबाट कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमिक स्क्वायर (सिनास) मा धाउँदैछन् ।

यो उमेरमा किन पढाइप्रति मोह जाग्यो त ? भन्ने प्रश्नमा खड्का ठाँटिदै जवाफ दिन्छन्, ”पढाइलाई उमेरले कहिल्यै पनि रोक्दैन, मेरो एउटै इच्छा भनेको बीएड् पास गरेर दीक्षान्तमा गाउन लगाएर सहभागी हुनु हो ।” उनले यति भसिक्दा उनको मुखमा लगाएको मास्क सुर्किएर तल सरिसकेको थियो । अनि देखियो नाक केही सुन्निएको र नाकको बायाँ प्वालमा केही बस्तु घुसाइएको । ‘के भएको बा नाकमा ?’ प्रश्न तेर्सियो ती परीक्षार्थीसँग । ”७, ८ वर्ष भयो छालाको क्यान्सर भएको, मेरो दुबै मृर्गौलाले १५ प्रतिशत भन्दा बढी काम पनि गर्दैनन्” उनले जिन्दगीको भोगाइको पोयो पनि सँगसँगै फुकाए ।

प्राथमिक तहको शिक्षकमा पेन्सन पकाएर अवकासको जिन्दगी बिताइरहेका खड्का रोगले आज भन्दा भोलि झन झन थलिँदै गएका छन् । उनले २०४८ देखि २०७० सालसम्म सरकारी सेवामा रहेर बिभिन्न विद्यालयहरुमा पढाउने काम गरे । दोलखा जिल्ला जिरी नगरपालिका वडा नं ४ स्थायी घर भएका उनको एउटा आँखामा मोतिबिदु भएको छ । भन्छन्, ”यो आँखा फिटिक्कै देख्दिँन ।”

उनको दुबै मृर्गौलाले गत एक वर्षदेखि १५ प्रतिशत मात्र काम गरेको छ । उनी हप्ताको तीन पटक मृगौलाको डायलायसिस् गर्छन् । तर पनि पढाइको चिन्ता भने स्वास्थ्यको भन्दा बढी छ । भन्छन्, ”आजकलका विद्यार्थीहरु कलेज जाने निहुँ पारी बा आमाको आँखा छलेर रामरमाइलोमै बढी समय खर्चिन्छन, चुरोट तान्छन्, म उनीहरुलाई कुलतमा नफस्न र देशको बिद्वान व्यक्ति बन्न आग्रह गर्छु ।” उनी थप्छन्, ”आजकलका विद्यार्थी उमेरका युवतीहरु पनि कुलतमा फँस्दै गएको समाचारहरुमा सुन्छु, देख्छु, कलेज पढ्ने युवतीहरुले पनि परिवार नियोजनका चक्कीहरु खाने गर्छन्, यस्ता बिकृतीबाट भोलिका देशका कर्णधारहरु बचाउनु पर्छ, यसका लागि स्वयम् अभिभाबक र सरकार पनि सचेत हुनुपर्छ ।”

यो उमेरमा उनलाई काठमाडौंमा बसेर साथ दिने उनकी जीवनसंगिनी छिन् । तर उनी पनि स्वस्थ भने छैनन् । उनको पढाइमा श्रीमतीले भन्दा पनि बढि हौसला र प्रेरणा थाइल्याण्डमा रहेका छोरा र अष्ट्रेलियामा रहेकी छोरीले दिएका छन् । भन्छन्, ”श्रीमती त यो राम नाम जपेर बस्ने बेलामा केको परीक्षा ? के को पढाई हो ? भन्दै झर्किने पो गर्छिन् ।”

राज्यले दीर्घ तथा गम्भीर रोग लागेका बिरामी (मुटु, क्यान्सर र मृर्गौला) लाई एक एक लाख दिने घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको कुरा यी ‘बा’ लाई थाहा रहेनछ । यी परीक्षार्थी ‘बा’ लाई सिनास कलेजको पत्रकारिता विषयको उप प्राध्यापक एवम् सञ्चारकर्मी भएको नाताले सो उपचार रकम लिने प्रकृयाका बारेमा आफूले जानेका केही सल्लाह दिएपछि बा मख्ख परे, हामी छुट्टियौँ ।

(यो आलेख तयार पार्न सहयोग गर्नुहुने सिनासका क्याम्पस प्रमुख पर्शुराम राईप्रति विशेष आभार ।)

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660