अन्तर्वार्ता

‘लड्ने बेलामा सेना–प्रहरीले हामीलाई साथ दिन्छन्’

post-img

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा १० वर्षे जनयुद्ध सञ्चालन हुँदा जनयुद्धको एक खम्बा बनेका  नेत्रविक्रम चन्द (विप्लव) यतिबेला  पनि ‘क्रान्ति ‘मै होमिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरेर त्यसको महासचिव बनेका विप्लव नेतृत्वको समूहलाई अहिले सरकारले भने प्रतिबन्ध लगाएको छ । आफूसँग एउटै मोर्चामा रहेका रामबहादुर थापा  (बादल) सरकारको गृहमन्त्री हुँदा  विप्लव भने प्रमुख सुरक्षा चुनौती बनेका छन् ।

‘जनताको बीचमा गएर नयाँ क्रान्तिको उद्घाेष गरेको’ बताउने विप्लव सरकारले आफूहरुमाथि लगाएको प्रतिबन्धलाई उनी फासिवाद र दमनको संज्ञा दिन्छन् । जनताको अधिकार प्राप्तीका लागि फेरि पनि लामो आन्दोलनमा होमिएको दाबी गर्ने विप्लव आफ्नो आन्दोलन चाँडै नयाँ मोडमा पुग्ने पनि दाबी गर्छन् । सरकारसँग वार्ताको ढोका खुल्ला रहेको पनि बताउने  विप्लव वास्वममै के  चहान्छन्  ? हामीले यहि प्रश्नको जवाफ उनीबाटै खोज्ने प्रयत्न गरेका छौं । 

उनले नेतृत्व गरेको नेकपाको आन्दोलन केहो ? यो आन्दोलन कसरी सफल हुन्छ ? सरकारसँगको वार्ता प्रक्रिया र यो पार्टीको आगामी नीति तथा कार्यक्रमका विषयमा केन्द्रित रहेर खबरहबका प्रधान सम्पादक जीवराम भण्डारीले नेत्रविक्रम चन्द विप्लवसँग  गरेको कुराकानीको सम्पादित अंश:

कम्युनिस्ट नेतृत्वको सरकार छ । सत्ताको नेकपाको लोकप्रियता घट्दो छ, तपाईं नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चाहिँ कसरी जनतालाई आकर्षित गर्छ ?

– जनआकर्षणको सम्बन्ध श्रमिक जनता (किसान, मजदूर, महिला, युवा), देश, देशभक्त शक्ति, लोकतन्त्रवादीहरुका लागि पार्टीले अगाडि बढाउने राजनीतिक विचार, नीति, कार्यक्रमसँग हुन्छ । आज देशको राजनीतिक आर्थिक, सामाजिक राष्ट्रिय अवस्था संकटपूर्ण एवं विष्फोटक छ भन्नेमा सवै एकमत छन् । यसको एकमात्र कारण दलाल पूँजीवादी राज्यसत्ता, यसमाथि चढेर मोचमस्ती चलाउने संसदवादी राजनीतिक पार्टीहरु एमाले, कांग्रेस, माओवादी केन्द्र आदि हुन ।

हाम्रो पार्टीले विदेशी शक्तिको अतिक्रमण, हस्तक्षेप र आक्रमणबाट मुक्त, सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्ने, मजदूर, किसान, महिला, युवाहरुका आधारभूत आवश्यकता गास, बास, शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्ने कार्यक्रम अघि बढाएका छौं । त्यस्तै देशबाट लुट, कमिसन, राष्ट्रघात, भ्रष्टाचार, तस्करी, सामाजिक असुरक्षा, बलात्कार, चोरी, महङ्गी आदीलाई सदाका लागि अन्त्य गर्ने हाम्रो नीति तथा कार्यक्रम छ । यी कार्यक्रम हाम्रा होइन जनताका हुन, यसको नेतृत्वमात्र हामीले गरेका हौं । यी नै आधारले हामी भन्छौं, हामी जनताका लागि काम गछौं, हाम्रो कामले जनता हाम्रो पार्टीप्रति आकर्षित हुन्छन् । हुँदै जानेछन्, यसमा कुनै दुविधा छैन ।

परिवर्तनका नाममा यसअघि पनि धेरै आन्दोलन भए । तपाईंहरुले चहानुभएको परिवर्तन चै कस्तो हो ? कस्तो राज्यसत्ताको परिकल्पना गर्नुभएको छ ?

— हाम्रो परिवर्तनको मुख्य लक्ष्य दलाल पूँजीवादी सत्ताको अन्त्य हो । यो व्यवस्थाले जनताको जीवनलाई कष्टकर, कंगाल, पराधीन मात्र बनाएको छ । देशलाई टाट पल्टाउँदै लगेको छ । देशलाई बेचेर खाने बाहेक केहि गरेको छैन । हामी यसलाई परिवर्तन गर्न  चहान्छौं । अनि हामीले स्थापना गर्न चाहेको राज्यसत्ता वैज्ञानिक समाजवाद हो जुन व्यवस्थामार्फत पूँजीवादले मानव जीवनमा लादेका सारा विभेद, उत्पीडन, शोषण, लुट, अशान्ति, युद्ध, अतिक्रमणलाई समाप्त पार्दछ । साथै यसले जनताका लागि समानता र स्वतन्त्रता सुनिश्चित गर्दछ ।

कम्युनिस्टको नाममा आन्दोलनको जनउभार उठ्ने सम्भावना छ र ?

–नि:सन्देह छ । सम्भावना मात्र होइन निर्विकल्प सम्भावना छ । किनकी काग्रेस, एमाले, माओवादी केन्द्रहरुलाई जनताले ७० वर्षको राजनीतिक आन्दोलनमा निकै पटक अवसर दिने र जाँच्ने गरेका छन् । कुनै बेला कांग्रेसले दुई तिहाई ल्यायो, कुनै बेला बहुमत ल्यायो, कहिले एमालेलाई जनताले ठूलो पार्टी बनाए, कहिले बहुमत र दुई तिहाइको अवसर पनि दिए । माओवादी केन्द्रले पनि छोटै अवधिमा त्यस्तै अवसर पायो ।

तर खै त यी पार्टीहरुबाट देशले नयाँ परिवर्तन र विकासको अनुभूति गर्न पाएको । बरु यी पार्टीहरुले जनतालाई भ्रामक पार्दै देशलाई बेचेर खाने, दलालहरुसँग मिलेर देशको धन कुम्लो पार्ने, जनतालाई लुटेर निजी मोजमस्ति गर्ने काम त गरे । यी असफल भइसकेको अवस्थामा वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादको पक्षमा जनता उठ्ने, एकताबद्ध हुने र परिवर्तन ल्याउने कुरामा कुनै शंका छैन ।

संसारमा कम्युनिस्ट अप्ठेरो अवस्थामा छन नेपालमा जनमत भएर पनि लोकप्रियता घट्दो छ ?

– यो पक्का हो की, माओको मृत्युपछि विश्व कम्युनिस्ट आन्दोलनमा केही कठिनाईहरु आएका छन् । तर पूँजीवाद कहाँ सफल भयो त ? पूँजीवाद झनै वेइमान, अमानवीय, लुटेरा र संकटग्रस्त भएको छ । विश्वमा आज मानव जातिले जे जस्ता सास्ती र विपतहरु भोग्दै छ ती सवै पूँजीवादी विश्व व्यवस्थाकै कारणले छ भोग्दै छन् । आज विश्व मानवजाति सामु जस्ता भयानक विनाशका चुनौतिहरु खडा भएका छन् ती सारा पूँजीवादी विश्व व्यवस्थाकै कारणले त भएको छ ।

कम्युनिस्टहरु सामु कैयौं प्रश्नहरु भए पनि पूँजीवाद दुनियाँको समाधान होइन भन्नेमा त पूँजीवादी विश्वकै बुद्धिजीवीहरु पनि सहमत छन् । नेपालमा त प्रगतिशील पूँजीवाद पनि छैन । यो त विदेशी शक्ति केन्द्रको अवैध गर्भधारणबाट पैदा भएको हिजडा पूँजीवाद हो । जसलाई हामीले दलाल पूँजीवाद भनेका छौं । यसले त पूँजीवादले गर्ने औधोगिक एवं प्राविधिक अर्थतन्त्र पनि दिन सक्दैन ।

यो त विदेशी मालिकको पैसा बेचरे गुजरा चलाउने र जनतालाई केवल बजारमात्र बनाएर विभत्स उपभोग गर्ने सत्ता मात्र हो । आफ्नो कुनै उत्पादन छैन तर उपभोग भने विश्वभरीबाट भए नभएका वस्तुहरु गर्न लगाएको छ । त्यसैको परिणाम हो देशलाई भ्रष्टाचार, व्यभिचार, तस्करी, ठगी, वेश्यावृत्ति, मानव वेचविखन गर्नु पर्ने बाध्यता आइलागेको । अनि यस्तो व्यवस्थालाई मिल्काएर जनताको सत्ता बनाउने कम्युनिस्ट पार्टी लोकप्रिय भइ छाड्छ ।

बम बिष्फोट भयो, मानिस मारिए, तपाईंका कार्यकर्ता पक्राउ परे । तपाईंको पार्टी शहरमा उपस्थिति र प्राविधिक रुपले कमजोर भनेर सरकारले बुझेको छ ।

—तपाईंको प्रश्न मिसियो । म फरक गरेर केही बताउँछु । केपी सरकारले चार महिनादेखि हाम्रो पार्टीमाथि फासिवादी आततयी दमन गरिरहेको छ । उसले युद्ध भड्काउने खेल खेलिरहेको छ । हामीले भने जनताको अभिमत अनुरुप राजनीतिक संघर्ष चलाइरहेका छौं । वन्दुक चलाएका छैनौं । जेठ ८ गते भोजपुरमा हाम्रा युवा कमरेड तीर्थराज घिमिरे(क.राजु)लाई प्रहरीले गोली हानी हत्या गर्यो । हत्याकाण्डाविरुद्ध नेपाल बन्द राख्यौं ।

बन्दका लागि तयारी गर्ने क्रममा केही प्राविधिक खरावीले गर्दा हाम्रा होनहार युवा कमरेडहरु महान, दिपेन्द्र, प्रज्वल, निरन्तर, रवीको सहादत भयो । उहाँहरुको साहदत दलाल पूँजीवादी सत्ताकाविरुद्ध एकीकृत जनक्रान्ति अगाडि बढेपछिको महान साहदत हो । हाम्रो पार्टीले उहाँहरुलाई उच्च सम्मान गरेको छ र म शीर निहुराएर सम्मान व्यक्त गर्दछु । उहाँहरुको वलिदान कहिल्यै खेर नजाने बरु दलाल पूँजीवादी सत्ताले एकदिन बिदा लिनु पर्ने छ भन्ने विश्वास जाहेर गर्दछु ।

त्यसैगरी पार्टी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीवीएम कमरेडहरु जीवन्त, रणवीर, सीसीएम कमरेडहरु वन्धु, असल, आदर्श, प्रज्वलन, सितलसहित सयौं कमरेडहरु वन्दीअवस्थामा हुनुहुन्छ । राज्यको कठोर दमनका वावजुद उहाँहरुले जेललाई मोर्चा बनाएर एकीकृत जनक्रान्तिलाई उचाई प्रदान गरिरहनुभएको छ । उहाँहरु सवै उच्च सम्मानका पात्र हुनुहुन्छ ।

शहरी क्षेत्रको प्रभावको सन्दर्भमा तपाईंको प्रश्न र सरकारले गरेको विश्लेषण मिलेन । उसले शहरलाई हामीले केन्द्रित गरेको भनेको छ । यसो भनेर हामी शहरमा मात्र लागेका छौं भन्न खोजेको होइन । आजको समाज त्यतिविधि गाउँ र शहरमा विभक्त छैन भन्ने हाम्रो पार्टीको विश्लेषण छ । आज शहरमा के चिज छ गाउँमा पनि छ । गाउँमा जे भइरहेको छ शहरमा पनि हुन्छ । आज यो सत्ता र सरकारकाविरुद्ध शहरमा जति असन्तुष्टि, आवेग, आक्रोस र विद्रोह छ त्यसबाट नै यो सरकार अत्तालिएको छ । जनताको असन्तुष्टि, आवेग र विद्रोहसँग त नेपाल कम्युनिस्ट पार्टी छ । हामी छौं । हामी किन चिन्तित हुने । तपार्इं पनि उत्साहित बन्नुस ।

सरकारले वार्ता र प्रतिबन्ध दुवैको कुरा गर्दैछ ?

– यो कुरा झुट र भ्रमपूण छ । वास्तवमा सरकार हाम्रो पार्टी बनेदेखि नै प्रचारमा वार्ता प्रयोगमा दमन, मुखले वार्ता व्यवहारमा फासिवाद, देखाउन वार्ता गर्ने दमनको नीतिमा छ । यो भनेको दमनभन्दा पनि खतरनाक चाल हो । सायद झापा विद्रोह र जनयुद्धको नकारात्मक अनुभवको प्रयोग हो । तर हामीले भनेका छौं यो एकीकृत जनक्रान्तिकै एउटा विशेषता हो । उनीहरुलाई दमन मात्र भनेर चल्न असम्भव भएको छ । किनकी हामीले जुन देशको स्वाधिनता र जनताको अधिकारका विषय उठाएका छौँ ती जनताका विषय हुन ।

प्रचण्डले आफ्नो नक्कल गरेको भने, तपाईंसँगै कुनै ताका युद्धमा होमिएका गृहमन्त्री रामबहादुर थापाले उपस्थिति फिचलो रहेको र ४ कम्पनीको जनसरकारको अभ्यासमात्र भने ।

– यसको एउटा कहानी नै पाउँछौं हामी सायद तपाईंले पनि बुझ्नु हुन्छ । प्रचण्डसँग विद्रोह गर्दा हाम्रो बारेमा के भन्थे यी तत्वले, पद नपाएर, मौका नपाएर, व्यक्तिगत टकराव होइन त ! हाम्रो पार्टी पार्टी नै बन्दैन पनि त भन्थे हैन । जब हामीले पार्टी बनायौं अनि के भने ? विदेशीबाट चलेकाछन्, भारतबाट निर्देशित छन्, दरबारबाट चलेका छन्, चीनबाट चलेका छन् के भनेनन् ! अझपछि भने बिढङ्गो गर्छन, समाप्त हुन्छन्, प्रभाकरण जस्तो बन्छन् !

तर आज तपाईंले भनेको पनि भन्दै छन् । हेर्नुस् त यीनको अनुहार कति मजाक लाग्दो, टिठलाग्दो र घृणास्पद छ । यो त जनता आफैले बुझिसकेका छन् नी । अनि प्रचण्डले आफ्नो नक्कल गर्न खोजेको भनेको मैले पनि सुने । हैन यो के बिजोग हो, के उटपट्याङ् र प्रहर्षण हो ! जसको धोती फुस्केर बेहाल छ, उनको नक्कल हास्यव्यङ्गका लागि मनोज गजुरेल बाहेक अरुले कस्ले गर्लार !

जहाँसम्म वर्ग संघर्ष, राजनीतिक संघर्ष, देशको स्वाधिनताको लडाई, जनताको जीवनलाई गर्ने परिवर्तन, कम्युनिस्ट आन्दोलनलाई क्रान्तिमा सोझ्याउने विषय, वैज्ञानिक समाजवाद—साम्यवादका लागि संघर्ष गर्ने विषय कम्युनिस्टको आधारभूत विचार र आदर्श हो । प्रचण्ड केही समय बाँदर राजाजस्तो झुल्किएर र उल्काजस्तो बिलाए । उनले हो क्रान्तिकारी वर्ग र बलिदानको आडमा क्रान्तिको नक्कल गरेको तर वैज्ञानिक समाजवादको मार्ग यस्तो कसी यस्तो छ जसले नक्कलीहरुलाई वर्षाको भेलले छाललगाइदिए जस्तो लगाइदिन्छ । उनी हो नक्कलबाट नायक बन्न खोज्दा समाप्त भएको । हामी वैज्ञानिक समाजवाद—साम्यवादको आदर्शमा समर्पित छौं र यो सफल भइछाड्ने छ ।

लड्न सकिन्छ र भन्या यत्रा सेना प्रहरी अनि कांग्रेस वामपन्थी तागत तपाईंको राजनीतिक लक्ष्यविरुद्ध एक छन राज्यसंयन्त्र पुरै बिपक्षमा छ ?

– होइन, तपाईंलाई पनि केही भ्रम छ जस्तो लाग्यो । यो भिमसेन गर्दाको लडाई जस्तो देखिएजतिसँग एकमेसै लड्ने भनेको होइन नी । तपाईले भने जस्तो सबै मान्छेहरु लगाम लगाएका टाँगा जस्ता पनि त छैनन् । यो २१औं शताब्दी हो र नेपाली जनता देशले भोगेका र जनताले झेलेका सारा समस्या र संकटका साक्षी हुन । देशको कुनै सेना—प्रहरी केवल सरकारको साधन मात्र होइनन् जनताका छोराछोरी र नागरिक पनि हुन । उनीहरुलाई राम्रोसँग थाहा छ देशको अवस्था र वेथितिहरुबारे ।

हामीले साफ गर्ने र फाल्ने भनेको त दलाल पूँजीपति, सुदखोर, भ्रष्टाचारी, तस्कर, ठग, राजनीतिको रङ्गमा देश लुटन हिडेका बोकसवादीहरुलाई न हो । यी तत्वहरुलाई फाल्दा सेना प्रहरीहरु हामीसँग किन लड्ने, उनीहरुको आदेशलाई कहिलेसम्म आँखा चिम्लेर पालना गर्ने ! हाम्रो विचारमा यो हुने छैन । असल देशभक्त, राष्ट्रवादी, इमान्दार सेना प्रहरी, कर्मचारीहरुले पनि हामीलाई साथ दिनेछन् । त्यसैले त हामीले भनेका पनि छौं यो पटकको मोर्चा भनेको दलाल र देशभक्त, लुटेरा र श्रमिक जनता, भ्रष्ट र इमान्दार, फासिवादी र जनवादीबीचको संघर्ष हो । यसमा सेना पुलिसले पनि विचार गर्नुपर्छ । हाम्रो विचारमा यस्तो हुँदै गएको पनि आभास आउँछ ।

भारत र चीनको पछिल्लो भूमिका तथा नेपालबारे उनीहरुको दृष्टिकोणलाई तपाईंले कसरी लिनुभएको छ ?

–चीन र भारत दुवै आजको विश्वमा उदयमान राष्ट्र हुन । पुँजीको दवदवा भएको विश्वमा उनीहरु अगाडि आउँदैछन् । व्यापार युद्धको रणनीति सारमा सैन्य राजनीतिक संघर्ष नै हो । जसले नयाँ हेरफेर नल्याएमा केही वर्षपछि उनीहरु अगाडि आउँदैछन् भन्ने अर्थविदहरुको विश्लेषण छ । उनीहरुको नेपालप्रतिको दृष्टिकोण यसैद्वारा निर्देशित हुन्छ र छ ।

हामी २१औ शताब्दीमा पराधीन, पछ्यौटे, उत्पीडित जीवन भोगिरहेका छौं । नेपाली जनताले यस्तो जीवनको अन्त्य लामो समयदेखि चहाना राख्दै आएका छन् । हाम्रो पार्टीले जनचहाना अनुरुप निर्णायक परिवर्तनको आवश्यक्ता बोध गरेको छ । छिमेकीहरुले यसलाई स्वीकार गर्नु पर्छ ।

सरकारसँग वार्ता र सम्झौताको सम्भावना चाहिँ के छ ?

– हरेक विद्रोह र क्रान्ति वार्ताकै उच्चतम् रुप हुन । जनता र देशका मुद्दाहरुले नै जनता र पार्टीलाई टेवुलबाट सडक, सडकबाट प्रतिरोध र प्रतिरोधबाट सशस्त्र क्रान्तिमा लैजान्छन् । यदि राज्यले जनयुद्धबाट वार्तामा आउँदा ०६४ पछि गरेको वेइमानी दोहर्याउँदैन र जनताका मुद्दालाई इमान्दारिपूर्वक आत्मसाथ गर्छ भने हामी किन तर्किन्छौं र ।

वार्ताका लागि के गर्नुपर्छ ? तपाईंहरुको क्रान्ति वार्ताहीन हो र ?

– क्रान्ति भनेको पुरानोको ध्वंस र नयाँको निर्माण हो । जनविरोधी राज्यको रुपान्तरण हो । हाम्रो देशको सन्दर्भमा दलाल पूँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक मसाजवादको स्थापना हो । यो वार्ताहीन हुन्छ कहाँ भनेका छौं र ।

कतिपय पक्ष तपाईंलाई पूर्वराजा र चीन , भारतसंग जोडेर सत्ता निकटका मानिस भनेर पनि चर्चा गर्छन ?

— हो एउटा समय यस्तो थियो । मैले माथि नै चर्चा गरे । समयले सवै भ्रम प्रचारलाई साफ पारिदिएको छ । अहिले यसको चर्चा छैन । कसैको दिमागमा केही छ भने पनि उसलाई बेरोजगारीको खाडलमा सडिरहेको जीवनभित्र घोत्लिन र सक्रिय हुन मद्दतै गर्छ । चिन्ता लिनु पर्दैन । हामी वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको मार्गमा छौं, यसले नेपाली जनताको मन जित्दै सफलता चुम्ने छ ।

अबको तत्कालीन र दीर्घकालीन कार्यक्रम नी ?

– देशको सत्ता रातारात टुप्पाबाट पलाएको दलाल पूँजीपतिवर्गको हातमा छ । सरकार कथित कम्युनिस्टको सामाजिक दलाल पूँजीवादी पार्टीको छ । यसले देशप्रति घात गर्दै जनताप्रति घात गर्दै जनताको जीवन थेग्न नसक्ने गरी भ्रष्टाचार, तस्करी, महङ्गी, असुरक्षा, मानव तस्करी, गुलामी बढाइरहेको छ । त्यसको विदोध गर्दा हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरिएको छ । त्यस्तै सबैमाथि फासिवादी दमन भइरहेको छ ।

हामी केपी-प्रचण्डको यस भ्रष्ट एवं राष्ट्रघाती वेथिति र फासिवादी दमनकाविरुद्ध सवै कम्युनिस्ट, देशभक्त, लोकतान्त्रिक शक्ति, बुद्धिजीवी, विश्लेषक, नागरिक व्यक्तित्व, साहित्यकार, कलाकार, उद्योगी व्यवसायीसँग हातेमालो गर्न चहान्छौं । यो दलाल पूँजीवादी सत्तालाई मिल्काएर नेपालमा पूँजीवादभन्दा विलकुलै नयाँ र जनवादी वैज्ञानिक समाजवाद स्थापना गर्न चहान्छौं ।

अन्तर्राष्ट्रिय वातावारण तपाईंको अनुकुलको छैन रणनीतिमा परिवतर्तन जरुरी ठान्नु हुन्न ?

– कुनै पनि राजनीतिको प्रधानपक्ष राष्ट्रिय परिस्थिति हो । हामी उत्पीडित छौं, हेपिएका र दमित छौं । हामीमाथि असमान सन्धि सम्झौता थोपरिएका छन् । हाम्रा जनताको जीवन कष्टकर छ, हामी यसलाई फेर्न चहान्छौं भने अन्तराष्ट्रले सहयोग गर्नुपर्छ । आजसम्म आफ्नोभन्दा विदेशीको मुख ताक्दा र मागन्ते तरिका प्रयोग गर्नाले त यो अवस्था बनेको हो ।

तपाईले भनेको रणनीति परिवर्तन सायद वैज्ञानिक समाजवादी क्रान्ति छोडेर संसदीय व्यवस्थामा आउने भन्न खोज्नु भएको होला त्यो गलत हुन्छ । हरेक आन्दोलन र क्रान्तिलाई संसदीय पूँजीवादी व्यवस्थामा हुल्दा त हाम्रो देशले यो अवस्था भोग्नु परेको हो । संसदबाट संसद, पूँजीवादबाट पूँजीवाद, दलाल पूँजीवादबाट दलाल पूँजीवादमा घुमेर हाम्रो जनताको अवस्थामा परिवर्तन सम्भव छैन । जुन वस्तु समस्या हो त्यसैमा फर्किने रणनीति बनाउँनु हुँदैन । समाधान गर्ने रणनीतिलाई छोड्नु हुँदैन । बरु सवैमिलेर एक पटक वैज्ञानिक समाजवाद निर्माण गरौं ।

तपाईं र प्रचण्डबीचको हिमचिमको पनि कुरा गर्छन ?

—हाम्रा साथीहरुसँगको भेटघाटमा प्रचण्डजीले ‘हुन्छ भने म पनि वैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा छु’ भन्ने गरेको कुरा मैले सुनेको छु ।

अरु पार्टी पंक्ति र समूहसँग एकता र कार्यगत एकताका पनि कुरा छन की ?

– ठीक भन्नु भयो हाम्रो पार्टीसँग अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, देशभक्त शक्ति, लोकतन्त्रवादी मित्र, बुद्धिजीवी, साहित्यकार, कलाकार व्यक्तित्वहरुसँग भिन्न विषयमा छलफल हुने गरेको छ । देश र जनताका हितका विषयमा भएका छलफल निकै उत्साहपूर्ण र विश्वासिला खालका छन् । हामीलाई त्यसले निकै उत्साहित पारिरहेको छ । पार्टीमाथि प्रतिबन्ध लगाउँदा जसरी कमरेड र मित्रहरुले सत्यको पक्षमा दृढतापूर्वक उभिदै प्रतिबन्धकाविरुद्ध बोल्ने साहस गर्नु भएको छ त्यो अतुलनीय छ ।

पार्टी एकताका लागि कमरेड किरण, कमरेड ऋषी कटेल, कमरेड गोपाल खम्वुलगायतसँग छलफल चलिरहन्छ । अनि सरकारी नेकपाभित्रकै केही साथीहरुसँग कुरा भइरहेकै छ । कैयौं देशभक्त शक्ति, र नेपाली कांग्रेस भित्रका पनि लोकतन्त्रवादीहरुसँग सहकार्य भइरहेको छ । देशलाई मायाँ गर्ने पूर्व जनरल र आइजी, एआइजी, डिआइजीहरुको सदभावलाई विनम्रतापूर्वक ग्रहण गरेका छौं । त्यस्तै नेपालका लागि नेपाली भन्ने अभियानका मित्रहरु डा.सुरेन्द्र भण्डारी, नायिका रेखा थापा, नरबहादुर कार्की,…हरुको भूमिकालाई हामीले स्वागत योग्य ठानेका छौं ।

तपाई भूमिगत की अर्धभूमिग, स्वदेश की विदेशमारु प्रचण्ड नेतृत्व समयकै जस्तो त होईन ?

—जनतासँग बस्ने र बिताउने समय कति सुखद र आनन्दमय हुन्छ त्यो प्राप्त गर्ने सौभाग्य हामीलाई मिलेको छ । राज्यसँगको लुकामारीको त झन कुरै नगरौं । मैले कारेको छु :

मेरो रगत बग्यो भने यही पवित्र माटोमा मिलोस्,
शरीर ढल्यो भने प्रिय सहिद—सपुतहरुसँगै सुतोस् ! 
नलागोस खोट आदर्श बाँचिरहोस्
खपेर सारा चोट सपना चम्किरहोस्।।

खबर हब डटकमबाट साभार

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660