सिङ्गै मरुभूमि भिजाएर तिमीले पसिनाको खेती गरेका रहेछौ
उता देशमा बागमती सुकिसकेको छ कणर्ाली दुखेसो कराउँछ एकोहोरो ।
प्रिय परदेशी यता तिम्रो पसिनाको उमेर बगिरहेको छ
उता आमाको आँसुले पटुकी भिजिरहेको छ ।
छ न त उता देशमा पनि छ सरकार
कहिले कालो आउँछ
कहिले गोरो आउँछ
कहिले रेल भन्छ
कहिले एयरपोर्ट भन्छ
कहिले पानी भन्छ
कहिले एमसिसिको रटान लगाउँछ
तर साहिलीको सिउँदो बुझ्दैन
परदेशिएको पसिना फर्काउँछु भन्दैन
बाँझो खेत बनाउँछु भन्दैन ।
प्रिय परदेशी खोकिलाबाट रातभर आएको आवाज तिम्रा सपनाहरू लेखिएका लामा गफका हरफहरू प्रेमले सुम्सुमाएर हरेकरात सिरानीमुनि राखेको मायालुको तस्विर आमाको न्यायो घर बनाउने सपना बालबचेराहरूका लागि स्कुले अक्षर किन्ने सङ्कल्प यी सबै धिमा गतिमा हिड्ने उँटको डोबहरूमा देख्छु सेकेण्डमा सयौँ तला पार गर्ने लिफ्टहरूमा देख्छु ।
तिमीले यति सिङ्गारेका रहेछौ
तिमीले यति बनाएका रहेछौ उता देश तिमीले जस्तो छोडेका थियौ त्यस्तै छ ।
अगुवाहरू झुक्याउँछन् मात्र केही गर्दैनन् । प्रिय परदेशी अब उतै फर्कौँ देश दुःख सुख सहौँला साइलीले तिम्रो बाटो हेरिरहेकी छ आमाले हरेक रात सपनामा तिमीलाई नै देख्नुहुन्छ देशले तिमीलाई कुरिरहेको छ साच्चै ! तिमीबिना देश रित्तो रित्तो छ साच्चै! देशलाई तिम्रो खाँचो छ ।