राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनेगरी चलाइएको शासन व्यवस्थालाई गणतन्त्र भनिन्छ । नेपालमा गणतन्त्रात्मक व्यवस्था आएको पनि आज जेठ १५ गते १५ वर्ष पुरा भएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत रुपमा अन्त्य गर्दै मुलुकमा सङघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।
मुलुकका माओवादीको नेतृत्वमा भएको १० वर्ष लामो जनयुद्ध र तत्कालीन ७ दलीय गठबन्धनको नेतृत्वमा भएको १९ दिने जनआन्दोलनको उपलब्धिस्वरुप प्राप्त भएको गणतन्त्रले आज १५ वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरिसकेको छ । यति लामो समय वितिसक्दा समेत संक्रमणकालीन न्यायका मुद्दा टुङ्गिएका छैनन् । देशले सोचेजस्तो विकास, निर्माण र समृद्धिले गति लिन सकेको छैन । बढ्दै गएको भष्टाचार अनियमितता र कमिसनले जनता निराश छन् ।
त्यसैले गणतन्त्र अहिले अलि–अलि विरामी अवस्थामा छ यसलाई उपचार गर्नुपर्ने छ । उपचार गर्न नागरिक समाज, शिक्षक, बुद्धिजीवि कलाकार साहित्यकार पत्रकारलगायत सचेत नागरिकले प्रयन्त जारी राख्नु सबैको दायित्व हो । कुनै पनि राज्यव्यवस्था सुरु भएपछि त्यो व्यवस्थाले संस्थागत विकास गर्न समय लाग्छ तर नेपालका सन्दर्भमा गणतन्त्रको संस्थागत विकासमा नेतृत्व पंक्तिबाट आवश्यक पहलकदमी नलिइएको हो कि भन्ने आशंका गरिरहँदा पनि जवर्जस्त गणतन्त्रले संस्थागत विकास गरिसकेको छ । यद्यपि यसका केही कमीकमजोरी रहेका भए त्यसलाई सुधार गर्न हामी सबैले खबरदारी गर्नु आजको दायित्व हो ।
गणतन्त्रको प्रमुख उपलब्धी भनेकै सर्वसाधारण नागरिकहरुले मताधिकारको नामबाट निर्वाचित गरेर पठाइएका व्यक्तिबाट राज्यशत्ता संञ्चालन हुनु हो । होला कहिले कहिँ हामीले छानेका प्रतिनिधि सही, इमान्दार नपर्न पनि सक्छन् । त्यस्ता जनप्रतिनिधिहरुलाई पाँच वर्षपछि फेर्न पनि सकिन्छ । यही हो गणतन्त्रको सुन्दर पक्ष । आज महिलाको हक सुरक्षित छ । आदिवासी जनजाति, दलित समुदाय सबैले नीति निर्माण तहमा उपस्थिति जनाउन सम्भव भएको छ । आज हामी हाम्रा प्रतिनिधिले गर्ने राम्रो कामको खुलेर समर्थन र नराम्रो कामका खुलेर विरोध गर्न सक्ने अवस्थामा छौ । हिजो राजतन्त्रमा पनि बोल्न त पाइन्थ्यो भन्नुहोला बोल्न त पाइन्थ्यो राजाविरुद्धमा बोल्न पाइन्दैन्थ्यो व्यवस्थामाथि बोल्न पाइदैन्थ्यो । कुनै नेताले गल्ती गर्दा उनी विरुद्ध कानुनी कारबाहीका लागि अदालतको ढोका चहार्ने कुरा त बेग्लै होस् बोल्न पनि पाइदैन्थ्यो ।
यो स्थितिबाट गुज्रिएका हामी गणतन्त्र प्राप्तिका निम्ति सबैभन्दा ठूलो संघर्ष गर्ने शक्तिहरु जसले परिवर्तनका निम्ति संघर्ष गरे, आज तिनै शक्ति जनताको अपेक्षा विपरीत गइरहेका छन् । परिवर्तनकारी शक्तिहरुले नै जनताको सबै मर्म बुझला र नयाँ शिराबाट जनताका आशा, अपेक्षा र मर्म बुझलान, दलभित्र एउटा छुटै संस्कार बसाउछ भन्ने थियो तर केही हद पुरा भएपनि जनताको मूल अपेक्षा पूरा हुन सकेन र जनयुद्धको पृष्ठभुमिबाट आएका केही नेताहरु समेत एकपछि अर्को अनियमिततामा तानिनुले जनतामा बढाउँदै गयो ।
यस्ता नेता बेलैमा चिनेर जनताले निर्वाचनको माध्यमबाट तह लगाइदिने हो भने यस्तो समस्या रहँदैन । यो व्यवस्था सुधार्न जनता पनि सुध्रिनु आवश्यक छ । देशमा भष्टाचारको जुन धमिरो लाग्यो त्यो नै गणतन्त्रको मुख्य समस्या र संकट हो । यस्ता गतिविधिहरुले गणतन्त्रलाई संस्थागत विकास गर्नुभन्दा व्यवस्थाप्रति नै जनतामा वितृष्णा पैदा हुन्छ । यो अवस्था आउन नदिन र गणतन्त्रको संस्थागत विकास गर्न सबै एकजुट हुनु नै अहिलेको आवश्यकता हो । यही आवश्यकता पूरा गर्ने र गणतन्त्र प्राप्ति लागि आफनो जिउज्यान गुमाउने सहिदहरुप्रति गहिरो सम्झना सहित गणतन्त्र दिवसको हार्दिक शुभकामना ।