अन्तर्वार्ता

हामी सडक निर्माण र कृषि उत्पादनमा जोड दिदैछौं

post-img

दिनेश लामा
वडा अध्यक्ष
चौरी देउराली गाउँपालिका वडा नं.२ नाग्रेगगर्चे, काभ्रे
काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. २ नाग्रेगगर्चे साविक नाग्रे गगर्चे गाविस वडा नं. ४ रजगाउँमा २०२८ सालमा जन्मिनुभएका दिनेश लामा हाल सोही गाउँपालिका वडा नं. २ को वडा अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । सोही गाउँको खाँडादेवी माविबाट अध्ययन सुरु गर्नुभएका लामाले केही समय शिक्षण पेशा समेत गर्नुभयो । २०४२ सालबाट तत्कालीन नेकपा चौमको विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएका लामा २०५२ सालबाट शिक्षण पेशा छाडेर तत्कालीन एकताकेन्द्र निकट रहेर काम गर्नुभएका लामा २०५४ सालको स्थानीय निर्वाचनमा समेत निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो । गत स्थानीय तहको निर्वाचनमा चौरी देउराली गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित भएसँगै गाउँकै विकासमा केन्द्रित लामासँग रामेछाप पोष्टले गरेको कुराकानीका सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको जन्म कहिले र कहाँ भयो ?
मेरो जन्म काभ्रे जिल्ला नाग्रे गगर्चे साविक ४ रजवासमा २०२८ सालमा भएको हो । राज्यको पुनर्संरचनासँगै हाल चौरी देउराली गाउँपालिका वडा नं. २ मा पर्दछ ।
तपाईले प्रारम्भिक अध्ययन कहाँबाट सुरु गर्नुभयो ?
मेरो अध्ययनको सुरुवात साविक नाग्रे गगर्चे गाविसस्थित खाँडादेवी मावि पलाक्थलीबाट भएको हो ।
तपाई राजनीतिमा पनि निकै लामो समयदेखि क्रियाशील हुनुहुन्छ । राजनीतिक सुरुवात कहिलेबाट भयो ?
मेरो राजनीतिक सुरुवात म चौध वर्षको हुँदा २०४२ सालमा विद्यार्थी राजनीतिबाट भयो । त्यतिबेला म तत्कालिन चौथो महाधिवेशन निकट अनेरास्ववियुमा संगठित भएँ । २०४५ सालमा एसएलसी उतीर्ण गरेसँगै म शिक्षण पेशामा लागे । सँगसँगै शिक्षक संगठनमा बसेर काम गरियो । २०५२ सालबाट शिक्षक पेशा छाडेर म तत्कालीन एकताकेन्द्र निकट संयुक्त जनमोर्चामा संगठित भएर काभ्रे–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भएर राजनीतिमा सक्रिय रहेँ । त्यतिबेला संयुक्त जनमोर्चा नेपाल काभ्रेको जिल्ला समिति सदस्य थिएँ । २०५४ को स्थानीय निर्वाचन नागे्र गगर्चे ४ मा वडा अध्यक्षमा निर्वाचित भएँ । लामो समय म संयुक्त जनमोर्चा नेपालको जिल्ला समितिमा रहेर काम गरे ।
त्यसपछि ?
२०६५ सालमा तत्कालीन नेकपा माओवादी र एकताकेन्द्रबीच पार्टी एकीकरण भएसँगै म गाउँ कमिटिको अध्यक्षका साथै इलाका समितिमा रहेर काम गरेँ ।
स्थानीय निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचित भएपछि तपाईले वडाको विकासमा के कस्ता काम कार्यहरु गरिरहनु भएको छ ?
हामी निर्वाचित भएपछि वडास्तरमा मोटरबाटो, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा क्षेत्रमा विशेष जोड दिएका छौं । वडाका सबैठाउँमा बाटोघाटोको राम्रो सुविधा छ । बाटो निर्माणलाई पहिलो प्राथमिकता दिएका थियौं । सँगसँगै खानेपानी र सिंचाईमा पनि वडाले विशेष योजना अगाडि सारेको छ । व्यवसायिक रुपमा अलैची खेती, कफी खेती, तरकारी खेती, कुखुरा पालन, बाख्रा पालन, मौरी पालन लगायतका कामहरु गर्न स्थानीय जनतालाई प्रोत्साहित गर्दै आएका छौं । कृषकहरुलाई कारितास नेपालसँग समन्वय गरेर प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेका र गर्न प्रोत्साहित गरिरहेका छौं । तरकारी खेतीका लागि थोपा सिंचाईको व्यवस्था गरिएको छ । हामीले आगामी दिनमा थोपा सिंचाईको साथै खानेपानी समस्या समाधानका लागि पनि प्रत्येक घरलाई ५०० लिटरको ट्यांकी उपलब्ध गराउने तयारीमा छौं । हाम्रो वडा अलैची र कफीको पकेट क्षेत्र घोषणा समेत भएको छ ।
तरकारी उत्पादनका लागि टनेल खेती नै किन गर्न सुरु गर्नुभयो ?
खासगरी पछिल्लो समय तरकारीमा विषादीको प्रयोग अत्याधिक हुँदै गएको देखिन्छ । हामीले अर्गानिक तरकारी खानका लागि, उत्पादन बढाउन र आर्थिक विकासका लागि पनि यसरी खेती गर्न आवश्यक देखियो । यसका निम्ति तालिमको समेत व्यवस्था गरेका छौं । कारितास नेपालसँगको सहकार्यमा यो काम अगाडि बढिरहेको छ । बजार व्यवस्थापनका लागि प्रत्येक गाउँपालिकाले हाल प्रत्येक वडामा एक÷एक वटा तरकारी संकलन केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसले पनि किसानहरुले उत्पादन गरेको तरकारी कहाँ लगेर बेच्ने भन्ने समस्या समाधान हुनेछ ।
तपाईहरुले सिचाई र खानेपानीमा नै बढी ध्यान दिनुको कारण के हो ?
२०७२ सालमा भूकम्प गईसकेपछि सबैभन्दा ठूलो समस्या खानेपानीको भयो । खानेपानी समस्या समाधान गर्नका लागि हामीले दुई ठाउँमा लिफ्टिङबाट खानेपानी योजना सुरु ग¥यौं । एउटा योजना वैशाखभित्रै सम्पन्न हुनेगरी काम भइरहेको छ । सो काम साविक वडा नं. ९ दुतीमा हुनेछ । यो खानेपानी योजनालाई कारीतास नेपालले सहयोग गरेको छ । यो योजना सम्पन्न भइसकेपछि जेठ महिनाभित्रमा उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने तयारी छ । अर्को योजनाको डिपिआर तयार भइसकेको छ । यो योजना साविक १, २, ३ र ५ नं. वडामा भइरहेको छ । यसका लागि रोटरी क्लव काठमाडौं, गाउँपालिका र उपभोक्ता समितिबीच समन्वय भई काम अगाडि बढिरहेको छ । अर्को बृहत खानेपानी योजनालाई सूचारु गर्नुपर्ने छ । त्यसैगरी विद्यालय, वडा कार्यालय, मगर टोल, वडा नं. ५ तल्लो क्षेत्र, वडा नं. ४ सोमपति, डिसिडब्लुसी हस्पिटलसम्म खानेपानीको काम वाटरएट, गाउँपालिका र वडा कार्यालयबीच समन्वय भएर अगाडि बढिरहेको छ । हामी यी काम सम्पन्न गर्ने कार्यमा लागिरहेका छौं । यी योजनाहरुलाई आगामी आर्थिक वर्षभित्र ‘एक घर एक धारा’ अवधारणा अनुरुप खानेपानीको समस्या समाधान गर्नेछौं ।
कृषि उत्पादनका लागि महत्वपूर्ण मानिएको सिंचाईको निम्ति के कस्ता काम भइरहेका छन् ?
हामीले पहिले खानेपानीको योजना सम्पन्न गरेपछि सिंचाईमा बढी जोड दिएका छौं । हाम्रो देश कृषि प्रधान देश भएको र उत्पादनका लागि सिंचाईको आवश्यकता भएकाले हामीले त्यता बढि जोड दिएका हौं । सिचाईका लागि भालुखोला सिंचाई, कोइलीखोला माथिल्लो र तल्लो सिंचाई, वाफलखोला सूर्यपाखा सिंचाई, गगर्चे वाफलखोला लिफ्टिङ सिंचाईका निम्ति हामीले आगामी वर्षभित्र डिपिआरसहित गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग समेत समन्वय गरी क्रमागत रुपमा हामी काम अगाडि बढाउने तयारीमा छौं ।
तपाई पूर्व शिक्षक पनि हुनुहुन्छ ? यतिबेला जनप्रतिनिधिको हैसियतमा हुनुहुन्छ । जनताले सुशासनदेखि हरेक कुराको अपेक्षा गर्छन । तपाई आफ्नो क्षेत्रमा सुशासन कायम गराउने सन्दर्भमा के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
हामीले स्थानीय क्लवहरुसँग समन्वय गरेर बजार व्यवस्थापन गर्ने, हस्पिटल, विद्यालय लगायत क्षेत्र आसपास मदिराजन्य पदार्थ बेचविखनमा रोक लगाउने, बालबालिकाहरुको बाल क्लव बनाएर उनीहरुलाई बाल हिंसा, महिलामाथि हुने घरेलु हिंसा, यौन हिंसा हुन नदिनका निम्ति तल्लो तहबाटै जनचेतना सिर्जना गर्ने काम गरिरहेका छौं । यसका लागि समाजका बुद्धिजीवी, सामाजिक संघसंस्थाहरु विद्यालय, स्थानीय प्रशासन, महिला स्वयंसेविका, मेलमिलाप केन्द्र, सचेतना केन्द्रलगायतसँग समन्वय गरी समाजलाई अनुशासित र मर्यादित बनाउने काम गरिरहेका छौं । समाजका हरेक व्यक्ति आफैं अनुशासित र मर्यादित भयो भने सुशासन स्वतः कायम हुने हुनाले हामी सुशासनका निम्ति तलैबाट काम गरिरहेका छौं । ताकि भावी दिनमा समाज आफैं उन्नत र विकसित हुन सकोस् ।
अन्त्यमा यस पत्रिकामार्फत थप के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम हाम्रो स्थानीय तहको कुराहरु यस सञ्चारमाध्यममार्फत जनताका बीचमा पु¥याउने मौका दिनुभएकोमा यहाँहरुको सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहन्छु । खासगरी काभ्रे जिल्लाको कोशीपारी, डाडापारी र तिमाल क्षेत्र सबै विकट क्षेत्र हुन । त्यसमध्ये पनि कोसीपारीको सबैभन्दा पल्लो क्षेत्र रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र दोलखाको संगमस्थलका रुपमा रहेको चौरी देउरालीको नाग्रे गगर्चे सबैभन्दा विकट क्षेत्र पनि हो । यहाँ एसियाकै ठूलो पहिरोका रुपमा रहेको दुतीको पहिरो छ । सो पहिरो रोकथामका लागि पनि हामी ठोस योजनाका निम्ति पहल गर्नु आवश्यक छ । त्यसैगरी यहाँ धार्मिक हिसावले पनि भक्तजनहरुको विश्वासको केन्द्र खाँडादेवी मन्दिर छ । २०७२ सालको भूकम्पका कारण सो मन्दिर जीर्ण बनेको छ । अहिले सो मन्दिरको पनि जिर्णोद्वार गर्नुपर्ने छ । त्यसैगरी राणाकालीन समयमै निर्माण भएको टाशी कुन्सालिङ गुम्बा पनि भूकम्पका कारण जीर्ण बनेको छ । सो गुम्बाको पनि पुननिर्माण गर्नुपर्नेछ । यसका लागि निकै ठूलो आर्थिक व्यवस्थापन गर्नु आवश्यक छ । यसका निम्ति पनि यो सञ्चारमाध्यममार्फत प्रदेश र केन्द्र सरकारको समेत ध्यानाकर्षण हुन सकोस् । साथसाथै आगामी दिनमा पनि वडा र यस सञ्चारमाध्यमबीच निरन्तर सम्बन्ध रहिरहोस भन्न चाहन्छु ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660