अन्तर्वार्ता

संकटपूणर् अवस्थाबाट मुलुकलाई जोगाउनु हाम्रो दायित्व हो

post-img

रत्नहरि ढुंगेल
युवा नेता
नेपाली कांगेस

रत्नहरि ढुंगेल नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका ढुंगेलसँग नेपालको वर्तमान राजनीतिक परिवेश र नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीत रहेर रामेछाप पोष्टले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे यहाँहरुको पछिल्लो विश्लेषण के छ ? बताइदिनुहोस न ?

मुलुकको पछिल्लो राजनीतिक परिस्थिति जटिल छ । मुलतः नेपालमा दलीय झगडा छ । यस्तो अवस्था रहिरह्यो भने हामीले हाम्रो सामरिक महत्व बचाउन या यो माथि अरुले गर्ने हस्तक्षेपबाट जोगाउन सक्दैनौं । यसले देश गम्भीर संकटतर्फ धकेलिन्छ । त्यसकारण यो अवस्था बदल्नु जरुरी छ । यतिबेला मुलुकमा देखिएको संकटपूणर् अवस्थाको अन्त्य गर्नु र मुलुकलाई संकटबाट जोगाउनु हाम्रो दायित्व हो ।

तपाईहरुको पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ, मुलुकको यो जटिल परिस्थितिलाई ठीक ठाउँमा ल्याउने दायित्व त कांग्रेसकै काँधमा छ नि होइन र ?

निश्चय नै यो दायित्व नेपाली कांग्रेसको हो । तर, अहिले कांग्रेस मुलुकको नेतृत्वमा आउनुको पछाडि बाध्यात्मक अवस्था पनि हो । हामीले सरकारको नेतृत्व गरेको भएपनि यहाँ पाँच दलीय गठबन्धन छ । कांग्रेसको मात्र निणर्यले सबै कुरा ठीकठाक हुन्छ भन्ने पनि होइन । गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दललाई पनि साथमा लिएर मुलुकमा देखिएको यो जटिल परिस्थितिको उपचार गर्नुपर्छ ।

यसमा कांग्रेसको नेतृत्व सफल होला त ?

सफल हुनै पर्छ । अन्यथा नेतृत्व गरिराख्ने नैतिक अधिकार कांग्रेससँग रहँदैन । त्यसैले मलाई विश्वास छ, कांग्रेस नेतृत्वको सरकार विगतमा जस्तो मुलुकको जटिल परिस्थितिमा पनि नेतत्व गर्न सफल हुनेछ ।

नेपाली कांग्रेसले विगतमा पनि पटकपटक मुलुकको नेतृत्व गरेको हो । स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पटकपटक नेतृत्व गरिसक्नु भएको छ । अहिले गठबन्धनको सरकार बनेको दुई महिना वितिसक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसक्दाको अवस्थालाई मध्यनजर गर्दा त कांग्रेसले मुलुकको नेतृत्व गर्न सक्ने विश्वास टुट्न थालिसकेको होइन र ?

कांग्रेसप्रति जनताको विश्वास टुटेको भन्ने कुरा नै गलत हो । बरु वामपन्थीहरुप्रति गरिएको विश्वास टुटेर कांग्रेसप्रति विश्वास जागेको हो । वर्तमान संसदमा एक तिहाई मत समेत नभएको कांग्रेसलाई दुई तिहाई बहुमत भएका वामपन्थीहरुले सरकार चलाउन नसकेपछि कांग्रेसलाई नै मुलुक चलाउन जिम्मेवारी दिनुभनेकै कांग्रेसप्रतिको विश्वास हो । हामी त्यो विश्वास कदापी टुटन दिंदैनौं । केवल सरकारले मन्त्रीपरिषदलाई पूणर्ता नदिएकै कारण कतै कांग्रेसले नेतृत्वगर्न सक्दैन कि भन्ने प्रश्न उठन गएको मात्रै हो । यद्यपि गठबन्धनमा सहभागी अन्य दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितका दलहरुले पनि अहिलेसम्म सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली दिन सकिरहेका छैनन् । यो खाली नेपाली कांग्रेसकै कारणले रोकिएको हो भन्ने मलाई लाग्दैन । गठबन्धनको बाध्यताले मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । मन्त्रीपरिषद विस्तार अब तत्कालै हुने अवस्था छ । गठबन्धनको सोही अनुसार तयारी पनि छ ।

कतै नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन प्रक्रियाकै कारण विलम्ब भएको त होइन ?

महाधिेवेशन नेपाली कांग्रेसको आन्तरिक विषय हो । तर, सरकार गठन गर्ने कुरा मुलुककै सरोकारको विषय हो । र कांग्रेस पनि देशकै लागि हो । त्यसकारण महाधिवेशनकै कारण मन्त्रीपरिषद विस्तार गर्ने कार्य रोकिएको हो भन्ने मलाई लाग्दैन । यी दुई अलगअलग प्रक्रिया हुन् । र नेतृत्वले यी दु्वै जिम्मेवारी पूरा गर्नुपर्छ । कांग्रेसले अझ बढी जिम्मेवार भएर ती कुरा पूरा गर्नेछ ।

महाधिवेशनकै सन्दर्भमा कुरा गर्दा जारी महाधिवेशनमा यहाँ आफूलाई कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?

मेरो हकमा कुरा गर्नुपर्दा मैले आफूलाई भन्दा पनि राजनीतिक जीवनमा पार्टीलाई केन्द्रविन्दूमा राखेको छु । म सँधै पार्टी बलियो बनाउने प्रक्रियामा नै लागिरहेको छु । पार्टीभित्र क्रियाशील रहनुभएका अग्रज नेतृत्वहरु, समकक्षी साथीहरु र नयाँ पुस्ताका तन्नेरीहरुसँग पनि दिनहुँ विचार विशर्म, अन्तरक्रियामै छु । सबै साथीहरुको सरसल्लाहमा कहाँ कसरी कुन जिम्मेवारीमा जाने भन्ने विषयमा टुंगो लगाएर अगाडि बढ्ने छु । अहिले हतारो पनि छैन ।

रामेछापका सबैजसो वडाहरुमा वडा अधिवेशन सकियो । अब पालिका, प्रदेश क्षेत्रीय, क्षेत्रीय र जिल्ला अधिवेशनको पनि तयारी हुँदैछ । तपाई आपूm कुन तहबाट नेतृत्व गर्ने तयारीमा हुनुहुन्छ । बताइदिनुहोस् न ?

मैले विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघको केन्द्रीय तहमा बसेर जिम्मेवारी पूरा गरिसकेको छु । मेरा अध्ययन, अनुभव, सम्पर्क र सम्बन्धको प्रयोग गर्दै धेरै तहमा सूयोग्य नेता साथीहरुलाई नेतृत्वमा उभ्याउन सहयोग गर्छु । मेरो हकमा साथीहरुले कुन तहको जिम्मेवारी दिनुहुन्छ, सोही अनुसार आफ्नो दावी पेश गर्दछु । यसो भन्दैमा म अनिणर्ित पनि छैन र कमजोर धरातमा उभिएको होइन । हामी अधिवेशनकै प्रक्रियामा छौं । यो नितान्त आन्तरिक विषय भएकाले आन्तरिक सर्कुलरभन्दा बाहिर धेरै कुरा बोलीराख्नुपर्छ भन्ने पनि मलाई लाग्दैन ।

तर नेपाली कांग्रेसभित्र माथिदेखि तलसम्म विभिन्न गुटगत समूह देखिन्छन् । गुटको फेरो समाउन नसक्ने योग्य नेताहरु पनि नेतृत्वमा आउने सम्भावना कमजोर छ भन्छन् नि ? तपाईलाई यस्तो लाग्दैन ?

यो सत्य हो । यसलाई बदल्नु पर्छ । म खुल्लमखुल्ला भन्न चाहन्छु कि कांग्रेस गुटको भूमरीमा फसेको छ । कांग्रेसलाई गुटको घेराभन्दा बाहिर निकाल्नु पर्छ । मेरो कमजोरी पनि यही हो, कि म गुटभन्दा पार्टीलाई महत्व ठान्दछु । यसबाट मलाई व्यक्तिगत क्षति हुनसक्छ । यदि त्यसो भयो भने पनि म सहर्ष स्वीकार गर्न तयार छु । यद्यपि अबको पुस्ता निणर्य गर्न नसक्ने त्यति कमजोर पनि छैन । त्यसो हुँदा अबको नेपाली कांग्रेसको नेतत्व गुटभन्दा माथि उठेको, नेतृत्व गर्न योग्य व्यक्तिहरु अधिवेशनका क्रममा नेतृत्वमा आउनु हुन्छ ।

तर कपिपय जिल्लाहरुमा वडा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा माथिल्लो तहका अधिवेशन नहुने र त्यसपछि महाविधेशन पनि अशिश्चयको भूमरीमा फसिरहेको छ भन्ने पनि टिप्पणी सुन्न थालिएको छ नि ?

निश्चित रुपमा महाविधेशन सम्पन्न गर्नुपर्ने बाध्यतामा नेपाली कांग्रेस छ । नेतत्व महाधिवेशनप्रति इमान्दार हुनुपर्छ । महाधिवेशनको विकल्प महाधिवेशन नै हो । महाधिवेशन नहुँदाको सम्भावित क्षति कल्पना गर्न पनि सकिँदैन । त्यसैले महाविधेशन हुन्छ र हुनैपर्छ । यो संवैधानिक बाध्यता पनि हो ।

गठबन्धन दलबीच पछिल्लो समय अन्तरविरोध बढ्दै गएको हो ?

मलाई त्यस्तै लाग्छ । लामो समयसम्म मन्त्रीपरिषद् विस्तार हुन नसक्नु, सरकारले प्रभावकारी ढंगले काम गर्न नसक्नु, संसदमा अवरोध सिर्जना हुनु, त्यसको निराकरण हुन विभिन्न कारणले गठबन्धनबीच अन्तरविरोध बढेको या काही त्रुटी भएको अनुमान गर्न सकिन्छ । यद्यपि सामान्य मनमुटाव मात्र हो । गठबन्धन टुट्ने गरी अन्तरविरोध बढेको छैन । हामी निर्धक्कसँग यति भन्न सक्छौं कि आगामी निर्वाचनसम्म यो गठबन्धन कायम रहन्छ । निर्वाचनमा भने गठबन्धन विना नै सबैले आ-आफ्नो तयारीका साथ जानुपर्छ । आम निर्वाचनमा गरिने गठबन्धनमा नेपाली कांग्रेस विश्वास गर्दैन ।

यही बीचमा फेरि शेरबहादुर देउवाले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने हल्चा पनि चल्न थालेका छन् । यसमा कत्तिको सत्यता छ ?

यो हल्ला निराधार छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो नेपाली कांग्रेसको नेतत्वले यस्तो गल्ती कदापी गर्न सक्दैन । र अब संसदको यो कार्यकालको उत्तरार्धमा आएर चुनावमा जान विघटन गरिराख्नु पर्दैन । नियमित निर्वाचन हुने समय करीव १५ महिना मात्रै बाँकी छ । कांग्रेस नेतृत्वको सरकारले सोही अवधिमा मात्रै निर्वाचन गर्ने तयारी गर्ने विश्वास म आम नेपाली जनतालाई दिलाउन चाहन्छु ।

अन्त्यमा थप के भन्न चाहनुहुन्छ ?

नेपाली कांग्रेसमा अहिले युवाहरुको आकर्षण बढ्न थालेको छ । खासगरी नेपालका वामपन्थी शक्तिहरुले दुई तिहाई बहुमत ल्याएर पनि पूरा अवधि सरकार चलाउन र मुलुकलाई सही ढंगले नेतत्व प्रदान नसकेपछि कांग्रेसप्रति आकर्षण बढ्दै गएको हो । युवा आकर्षणलाई बढाउँदै कांग्रेस अगाडि बढ्छ । कांग्रेस आफै पनि महाधिवेशनको तयारीमा छ । युवा साथीहरुलाई संयमित भएर योग्य नेतृत्वको पक्षमा उभिन वा मतदान गर्न म आब्हान गर्दछु । विशेषतः रामेछाप जिल्लामा वडा अधिवेशनमा देखिएको युवाहरुको लहरले हामीलाई उत्साहित बनाएको छ । तथापि नेतृत्वमा पुग्ने महत्वाकांक्षाले काग्रेसभित्र कतैकतै विसंगतिका शृंखलाहरु पनि देखिन थालेका छन् । युवाहरुले त्यस किसिमको विसंगतिको पछाडि लाग्नेभन्दा पनि स्वच्छ र मर्यादित तवरले नेतृत्व छनौट प्रक्रियामा सामेल हुन समेत यसै सञ्चारमाध्यममार्फत आग्रह गर्दछु ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660