म गाउँ आएपछि
मसँगै आए धेरै बालस्मृतिहरू ।
त्यो बूढो सिमलको रुख
गाउँमा फैलिएको चमेलीको बास्ना
कखरा पढेको पाठशाला
आँखामा ठोकिएको हिमाल
मलाई नै पर्खिरहेका रहेछन् ।
सहरको उकुसमुकुस
अलिकति बौद्धिकताको भ्रम
दुईचार कफीगफ
कदापी मलाई गाउँ बिर्साउने
हतियारहरू भएनन् ।
मैले गाउँका धेरै स्वादहरू छुटाएछु
किञ्चित मलाई सहर प्रिय भएन
गाउँको कुलोमा कति पानीहरू बगिसकेछन्
कतिपटक घाम खसिसकेछ क्षितिजबाट
तर मलाई सहरले
बन्दक बनाएर राख्यो यतिञ्जेल ।
मलाई अङ्ग्रेजी शिक्षाको लोभ देखायो
मोटरगाडीको लोभ देखायो
कृतिम सुखको लोभ देखायो
र घाँटी थिचेर राख्यो ।
म गाउँबाट कहिल्यै बिमुख भइनँ ।
आज धेरैपछि
आफैँसँग बिद्रोह गरेर
गाउँ आएको छु ।
प्रिय गाउँ
मलाई तिम्रो काखमा अलिकति ठाउँ देऊ
प्रियजन
मलाई मनमा अलिकति ठाउँ दिनोस् ।
मैले सहरमा
गाउँको बदख्वाइँ गरेको छैन
मैले गाउँको बुढीऔलाहरू सहरमा बेचेको छैन
प्रिय गाउँ
म तिम्रै काखमा उदाएँ
म तिम्रै आँगनमा प्रकाश छरूँ
र तिम्रै काखमा निदाऊँ ।