साहित्य

बा !

post-img

बा ! म सानो छँदा
काँधमा चढाएर अग्लो बनाउनुहन्थ्यो
र निकै टाढासम्म हेर्नसक्नु पर्छ भन्नुहुन्थ्यो तपाईंले ।
तर
तपाईंको छातीमा खुट्टा बजार्थेँ म
तपाईंको कपाल दुख्ने गरी समाएपछि मात्र
तपाईंभन्दा अग्लो भएको घमण्ड हुन्थ्यो मलाई
तैपनि मेरो मुहारमा खुसी देखेर
तपाईंले टाउकोबाट झर्दै गरेको कपाल
अनि छातीको दुखाई कहिल्यै देखाउनुभएन ।

बा !
कपाल झरेर खुइलिदै गएको तपाईंको तालुमा
मेरो जिम्मेवारीको चर्को घामले
सधैँ तताइरह्यो,
मैले भने सधैँ राप लिईरहेँ ।

बा !
मलाई थाहा छ
म सपनाको सहरमा
मस्तसँग निदाइरहेको बेला
तपाईं फुङ्ग रङ उडेको
उदासी अनुहार लिएर
गाउँमा हलो जोत्दै
रङ्गिन सपनाहरू बुनिरहनुभएको थियो ।
तपाईंभन्दा ढिलो बिउँझने घाम
आजभोलि मलाई
निद्रामै आएर जिस्काउने गर्छ
र भनिरहन्छ

ओइ मनुवा !
तँलाई बाले काँधमाथि चढाएर देखाएको सपना
सुतेर भेटिँदैन
निद्रामा देखिँदैन ।
आँखा मिच्दै सोच्छु
अनि प्रत्येक बिहान
घाम साक्षी राखेर भन्छु
भोलिबाट घामभन्दा चाँडै उठ्ने छु ।

बा !
यसरी मैले कयौँपटक ढाटेँ हुँला
घामसँग
तपाईंसँग
र आफैँसँग
तर तपाईंको आशिष भुलेको छैन
तपाईंको विश्वास कुल्चिएको छैन ।

बा !
मैले आत्मासँग पौठेजोरी
खेलेको छैन कहिल्यै ।
बा !
तपाईं आफैँ मैनबत्ती बनेर
जल्नु भएको छ
पग्लनु भएको छ
अनि
मलाई उज्यालोमा राखेर
तपाईंले कयौँ अँध्याराहरू भोग्नु भएको छ ।
त्यसकारण
म विचारको उज्यालोमा छु ।

बा !
तपाईंले काँधमाथि चढाएर गर्नुभएको
दूरदृष्टिको अपेक्षा बिर्सिएको छैन ।

फेसबुक वालबाट

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660