अन्तर्वार्ता

हाम्रो नीति र कार्यक्रमबाट नै हामी वैकल्पिक अग्रगामी शक्ति हौं भन्ने पुष्टि हुन्छ

post-img

लोकबहादुर श्रेष्ठ
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय परिषद सदस्य

तपाई जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय परिषद सदस्य हुनुहुन्छ । जसपा केन्द्रीय परिषद सदस्यको हैसियतले वर्तमान राजनीतिक परिवेशबारे तपाईहरु कसरी विश्लेषण गरिरहनु भएको छ ?
केही समय अगाडि नेपाली राजनीति अत्यन्त गरमागर्मी अवस्थाबाट गुज्रिरहेको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नु र दुवै पटक अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको थियो । त्यसमा पनि पछिल्लो पटक सर्वोच्च अदालतले नै विपक्षी दलका नेता शेरबहादुर देउवालाई समय तोकेरै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राजनीतिक घटनाक्रममा तीव्र रुपमा बदलाव आएकै हो । तर गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि राजनीतिक गतिविधि अर्कै धारबाट अगाडि बढिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको दम्भको अन्त्य भएको छ । तर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासमेतको गठनबन्धनमा बनेको वर्तमान सरकारलाई कसरी अगाडि बढाउनु हुन्छ, त्यसअनुसार नेपालको वर्तमान राजनीतिक गतिविधि अगाडि बढ्दा भन्ने मलाई विश्वास छ । यद्यपि विगतको कमीकमजोरी सच्याउँदै वर्तमान सरकार अगाढि बढ्नुपर्छ भन्ने लाग्छ ।

तर तपाईहरुले भनेजस्तै वर्तमान शेरबहादुर देउवा नेतृत्वका गठबन्धनको सरकार बनेको एक महिना वितिसक्दा पनि जनतालाई तात्विक अन्तर हुने कुनै पनि काम गर्न सकेन नि ?
सामान्यतया तपाईहरुले भनेको कुरा ठिकै हो । वर्तमान सरकार बनेको जम्माजम्मी एक महिना मात्रै भएको छ । गठबन्धनको आफ्नै सिमा र बाध्यता छन् । दुई तिहाई बहमुत प्राप्त सरकारले त साँढे तीन वर्षसम्म जनताले भनेजस्तो काम गर्न नसकिरहेको अवस्थामा एक महिना अगाडि मात्रै बनेको गठबन्धन सरकारले जनताले भनेजस्तो सबै काम गर्न सक्छ भन्नुभन्दा कम्तीमा पनि सरकारलाई तीन महिनासम्म हेर्नुपर्ने हुन्छ ।

तपाईहरु आफूलाई बैकल्पिक राजनीतिक शक्ति भन्नुहुन्छ । जनतलाई तपाईहरु नै बैकल्पिक शक्ति हो भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?

हो, हामी नेपाली राजनीतिमा अहिले सबैभन्दा अग्रगामी र वैकल्पिक शक्ति हौं । यो कुरा विस्तारै पुष्टि हुँदै गइरहेको छ । बीसौ हजार जनताले बलिदानी दिएर प्राप्त गरेको नयाँ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रपछि भएको निर्वाचनमा जनताले नेपालका कम्युनिष्टहरुलाई दुई तिहाई बहुमत दिएका थिए । हामीले नयाँ संविधान निर्माण गर्ने क्रममै भनेका थियौं कि उपेक्षित, उत्पीडित जनताको हक अधिकार यो संविधानले दिन सकेन । यसलाई पूर्णता दिनका लागि संविधान संशोधनको खाँचो हामीले संविधान निर्माणताकादेखि नै उठाउँदै आएका हौं । अर्को कुरा नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टीहरुबाट अबको अग्रगामी परिवर्तन सम्भव छैन भनेका थियौं । त्यो कुरा यतिबेला आएर पुष्टि भएको छ । दुई तिहाई प्राप्त कम्युनिष्ट सरकार साँढे तीन वर्ष चल्न सकेन । यो भनेको उनीहरुको असफलता हो । जनताले बल्ल हामीले भनेको वैकल्पिक शक्तिबारे बुझ्दै गएका छन् । हाम्रो नीति र कार्यक्रमबाट नै हामी वैकल्पिक अग्रगामी शक्ति हौं भन्ने पुष्टि हुन्छ यही कुरामार्फत नै हामी जनतालाई हामी वैकल्पिक अग्रगामी शक्ति हौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।

तर तपाईहरुले कांग्रेस, माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा जनतामा त सबै उस्तै त हुन भन्ने भएको छ नि ?

त्यस्तो लाग्नु स्वभाविक हो । २००७ सालदेखि आजसम्म हेर्दा जतिबेला पनि सत्ताको पेरिफेरिमा मात्र राजनीति घुमिरहेको जस्तो देखिन्छ । यो बीचमा कुनै बेला अग्रगामी परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको र कुनै बेला कम्युनिष्ट पार्टीहरुले गरेको तथ्यलाई हामीले भुल्नु हुँदैन । पछिल्लो समय कांग्रेस र कम्युनिष्ट पार्टीहरुले अग्रगमनकोन नेतृत्व गर्न नसक्नके कुरा प्रष्टै छ । यस हिसावले नेपालको अबको अग्रगामी राजनीतिक नेतृत्व जनता समाजवादी पार्टीले गरिरहेको छ । तर संसदमा कम्युनिष्टहरुको दुई तिहाई बहुमत रहेको र त्यसको नेतत्व गरेका केपी शर्मा ओलीले जुन तरिकाले काम गर्नुभयो, त्यसले कम्युनिष्टहरु आफैं सन्तुष्ट हुन सकेनन । हामीले त सुरुदेखि नै यिनीहरुले जनचाहना अनुसार काम गर्न सक्दैनन् भन्दै आएका थियौं । त्यो कुरा पटकपटक संसद विघटन भएर पुष्टि भयो । यतिबेला संसद विघटन हुनु सही होइन, यसलाई पूरा समय चल्न दिनुपर्छ भन्दै जसपाले आन्दोलनको मूल नेतृत्व गरेकै हो । त्यसका निम्ति नेपाली कांग्रेस र कम्युनिष्टहरुकै एउटा समूहसँग हामीले सहकार्य गरेका हौं । त्यसो हुँदा हामी र उनीहरु उस्तैउस्तै भन्ने जनतामा यसअघि जुन भ्रम थियो, त्यो भ्रम यतिबेला तोडिएको छ । नेपालको अग्रगामी राजनीतिक शक्ति भनेकै जसपा हो भन्ने व्यवहारतः पुष्टि भएको छ । जनताले यो कुरा बुझिरहेका छन् ।

तर तपाईहरुले भन्ने गरेको वैकल्पिक शक्तिको नारा त नारामै सिमित भयो भन्छन् नि ?

हामीले वैकल्पिक शक्तिको कुरा गरिरहेका छौं । हामीले नेपालको शासकीय स्वरुपमा नै आमूल परिवर्तनको नारा उठाइरहेका छौं । यस्तो अवस्थामा वैकल्पिक राजनीतिको नारा नारामै सिमित भयो भन्ने कुरा सही होइन । वैकल्पिक शक्ति क्रमश जनताको दिल दिमागमा स्थापित हुँदै गएको छ । पूराना राजनीतिक शक्तिहरुले गरेका गतिविधिहरु अहिले जनताले राम्रोसँग हेरिरहेका छन् । दुई तिहाई बहुमत दिँदासमेत केही गर्न नसकेको र पार्टी नै क्षतविक्षत भएको कुरा आम नेपालीले देखिरहेका छन् । हामीले यो कुरा विगतदेखि नै भन्दै आएका थियौं । अहिले त्यो कुरा सत्य सावित भएको छ । नेपालमा ठूलो संघर्षपछि प्राप्त संविधानमा संसदीय व्यवस्थालाई सर्वोपरि मान्ने जुन कुरा थियो, त्यसबाट केही हुँदैन । शासकीय स्वरुप नै बदल्नुपर्छ भन्ने हाम्रो भनाई हो । शासकीय स्वरुपमै परिवर्तन गरि प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा गएपछि मात्रै नेपालको राजनीति स्थिर र जनताले चाहेको विकास समृद्धि हासिल हुनसक्छ । त्यसो हुँदा जनतालाई वैकल्पिक राजनीतिक शक्तिबारे अझै स्पष्ट पार्न जरुरी छ ।

तपाईहरु आफूलाई वैकल्पिक राजनीतिक शक्ति भएको पुष्टि चाहिँ कसरी गर्नुहुन्छ ?

हामीले विगतदेखि भन्दै आएको र व्यवहारिक रुपमा लागू गर्दै आएका कुराहरुले नै हामीलाई जनताका बीचमा हामी वैकल्पिक राजनीतिक शक्ति हौं भन्ने पुष्टि भएका छन् ।
हामीले व्यवहारिक ढंगबाट नै दुरगामी विचार राखेका छौं । हाम्रो पार्टीको विधि विधान पनि सोही अनुसार अगाडि बढेको छ । यिनै कुराहरुले पनि हामी वैकल्पिक राजनीतिक शक्ति भएको पुष्टि हुने आधारहरु हुन ।

तपाई राजनीति बाहेक सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । राजनीति र सामाजिक कामलाई सँगसँगै लैजान के कस्ता समस्याहरु छन् ?

खासमा राजनीति भनेकै सामाजिक काम हो र सामाजिक कार्यमा संलग्न हुनु भनेकै राजनीतिमा पनि संलग्न हुनु हो । नेपालमा राजनीति र सामाजिक कार्यलाई छुट्टाछुट्टै राख्नु नै पर्दैन भन्ने मलाई लाग्छ । वास्तवमा हामी राजनीति किन र कसका लागि गर्छौ ? राजनीति जनताका लागि गर्ने होइन र ? अनि सामाजिक काम किन र कसका लागि गर्छौ ? त्यो पनि जनताकै लागि हो नि । जसले जनताको हित सोच्छ उसले राजनीतिक र सामाजिक कार्य सँगसँगै गरिरहेको हुन्छ । जो सामाजिक कामको नाममा आफ्नो हित अनुकूलका काम गर्छ, त्यो जनहितमा हुनै सक्दैन । राजनीति र सामाजिक काम गर्नेले त जनतालाई केन्द्रविन्दूमा राखेर गर्नुपर्छ । समस्यामा परेका जनतालाई केन्द्रविन्दूमा राखेर काम गर्न सकियो भने त्यसले छुट्टै आनन्द आउँछ । म जे जति काम गर्न सक्छु जनतालाई नै केन्द्रविन्दूमा राखेर गर्छु । त्यसो हुँदा मलाई राजनीति र सामाजिक कार्यमा संलग्न हुँदा खासै समस्या पैदा भएको छैन ।

तपाई खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ? यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

म सानै उमेरदेखि खेलकुदमा अलि बढि समय खर्चिन रुचाउँथे । गाउँघरमा हुर्किदै गर्दा गाई बाख्रा गोठालो जाँदा चौरीमा खुबै कपर्डी खेलिन्थ्यो । त्यसैगरी डन्डीबिगो हुँदै मोजाको भलिबल, फुटबल बनाउँदै कति खेलियो खेलियो । विस्तारै समय परिवर्तन भएसँगै अलि बढि समय भलिबलमा बिताएँ । केही समय खेलाडी बनेरै खेलियो र धेरै समय टिम म्यानेजर भएर खेलाडीहरुलाई हौसला प्रदान गरिदै समय विताइयो । अहिले पनि म खेलकूद क्षेत्रमा कुनै न कुनै हिसावले क्रियाशील छु । अहिले म ब्याडमिन्टन खेलाडीका रुपमा क्रियाशील छु । उमेर ढल्किँदै गएपछि यतामात्रै सिमित भएको छु । हाल इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस क्लब मेरै अध्यक्षतामा दर्ता भई सञ्चालन गरिरहेको छु ।
मेरो विचारमा खेलकुद सबै मानव जातिको लागि लाभदायक कुरा हो भन्ने लाग्छ । किनकि खेलकुदले स्वास्थलाई सकारात्मक भूमिका निर्वाह गर्न मद्दत गर्दछ भने सबैसँग सहजै घुलमिल हुने वातावरण समेत प्रदान गर्दछ । यस हिसावले मेरो जीवन खेलकूदकै अंग बनिरहेको छ । जब जीवन खेलकूदको अंग बन्दैछ भने यसलाई समय व्यवस्थापन गर्न मलाई कुनै अप्ठेरो छैन ।

पछिल्लो समय मुलुक कोरोना सक्रमणबाट आक्रान्त बनेको छ, यसबाट जोगाउन के कस्ता भूमिका निर्वाह गर्नुपर्ला ?

हो, पछिल्लो समय कोरोना संक्रमणका कारण नेपाल मात्रे होइन विश्वभर नै अस्तव्यस्त भयो । लाखौ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाए । कतिले रोजगारी गुमाए भने कतिको जीवन धान्ने अवस्था नै कष्टकर बन्यो । यो अवस्था नेपालमा पनि रह्यो । अहिले पनि हामी यसबाट मुक्त हुन सकेका छैनौं । कोरोना संक्रमणबाट संकटमा परेका व्यक्तिहरुलाई राज्यको तर्फबाट उचित व्यवस्थापन गर्नुपर्ने हो । यो हुन सकिरहेको छैन । तथापि हामी आफूले आ–आफ्नो तर्फबाट जे गर्न सकिन्छ, त्यसो गर्ने हो र अनुशासित रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने कोरोना संक्रमणबाट आक्रान्त बनेका समूहलाई जोगाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

अन्त्यमा रामेछाप पोष्ट मार्फत थप के भन्न चाहनुहुन्छ ?

मुलुक अहिले गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको छ । खासगरी हामी अग्रगामी शक्तिहरु यो मुलुकका व्याप्त बेथिति र विसंगतिको विरुद्धमा केन्द्रित हुनुपर्छ । नेपाली जनताको चाहना जहिले पनि अग्रगमनकारी नै छ । तर सत्तामा पुगेका शक्तिहरुले जनताको यो चाहनालाई यो वा त्यो बहानामा कुठाराघात गर्ने काम गर्दै आएका छन् । एक्काइसौं शताब्दीका नेपाली जनताले यो कुरा बुझिसकेका छन् । अब जनता झुक्किनेवाला छैनन् । मुलुकले अब छिट्टै विकास र समृद्धिको मार्ग पहिल्याउने छ । यस अभियानमा हामी र तपाईहरुको मिडिया पनि साथसाथै अगाडि बढौं भन्न चाहन्छु ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660